
काठमाडौंको कीर्तिपुरमा तीन अर्ब रूपैयाँ लगानीमा साहसिक पर्यटन (एड्भेन्चर) सहितको होटल बन्ने भएको छ।
कीर्तिपुर नगरपालिका-६ मा होटल निर्माणका लागि उद्योग विभागमा गत वैशाख १९ गते जेभी भेन्चर प्रालिले विभिन्न साहसिक खेलको मनोरञ्जन प्रदान गर्न कम्पनी दर्ता गरिसकेको छ। यससँगै अब काठमाडौंमै बञ्जी, जीपलाइन, स्वीङ, स्काइ वाक, स्काइ साइकलिङ र रक क्लाइम्बिङ खेल खेल्न खेल्न पाइने भएको हो।
दर्ता विवरण अनुसार कम्पनीले होटलमा ६० सिट क्षमताको रेस्टुरेन्ट बनाउने छ। त्यस्तै वार्षिक चार लाख बीस हजारभन्दा बढीलाई एड्भेन्चर सेवा दिने जनाएको छ।
कम्पनीले एक वर्षमा ५० हजारलाई बन्जी-जम्प गराउने बताएको छ।
त्यस्तै, ७० हजारलाई जिपलाइन, ७० हजारलाई स्विङ, ७० हजारलाई स्काइ-वाक तथा ग्लास ब्रिज (सिसाको पुलमा रमाउने सेवा), ७० हजारलाई स्काइ-साइक्लिङ गराउने, ४० हजारलाई रक-क्लाइम्बिङ गराउने र एक लाख बालबालिकालाई फनपार्कभित्र मनोरञ्जन गराउने बताएको छ।
स्वदेशी लगानीमा बन्ने यो परियोजनामा एक सय ५० जनाले रोजगारी पाउने उल्लेख छ।
© 2023, Online Bulletin