संसदमा आफ्ना सांसदहरु कम उपस्थित भएपछि रास्वपाले माग्यो माफी


अनलाईन बुलेटिन संवाददाता

सोमवार, जेष्ठ ८, २०८०

प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरु कम उपस्थिति भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माफी मागेको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको अन्त्यसम्ममा आफ्ना पार्टीका २१ जनामध्ये संसदमा ६ जनामात्रै उपस्थित रहेकोमा रास्वपाले माफी मागेको हो।

‘रास्वपाका २१ जनामध्ये जम्मा ६ जना सांसदको मात्रै उपस्थिति भएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं र यसका लागि आम जनसमुदायसँग क्षमा पनि माग्न चाहन्छौं। आगामी दिनमा यस्तो हुन नदिन हामी पार्टीभित्रै विधि र पद्धति विकास गर्न लागि परेको व्यहोरा सम्बन्धित सबैमा अवगत समेत गराउन चाहन्छौं’ रास्वपाले फेसबुक पेजमार्फत माफी माग्दै भनेको छ।

११ बजेदेखि बेलुका ७ बजेसम्म चलेको सोमबारको संसद बैठकमा २२६ जना सांसदको हाजिर रहेको छ। तर, बैठकको अन्त्यसम्ममा जम्मा ३२ जना सांसद मात्र रहेका थिए।

बैठकको अन्तिमसम्म रास्वपाका ६, नेपाली कांग्रेसका ९, नेकपा एमालेका ७, नेकपा माओवादीका केन्द्र ५, नेकपा एकीकृत समाजवादीका १, अन्य २ र मन्त्री २ जना मात्रै रहेको रास्वपाले जानकारी दिएको छ ।

सम्बन्धित खबर