सहकारी पीडितको प्रदर्शन, बचत फिर्ता गराइदिन माग


अनलाईन बुलेटिन संवाददाता

शनिबार, जेष्ठ २०, २०८०

सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सहकारीबाट ठगिएका पीडितहरूले सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरू धाउँदा कतै पनि सुनुवाइ नभइपछि संयुक्त रूपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन्।

सहकारीलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने आफूहरूको मुख्य माग रहेको उनले बताइन्।

राजभण्डारीका अनुसार अहिले एकसय भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा छन्।

पीडितहरूले रगत पसिनाले कमाएको पैसा फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गरलगायतका नारा लगाएका थिए।

सम्बन्धित खबर