
मंगलबार नेप्से परिसूचक ५३.१६ अंक घटेर १८८८.६१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७९ अंक घटेको छ।
बजेटपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको हो। सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से उच्च अंक घट्न पुगेको हो।
नेप्से घटेपनि यस दिनको कारोबार रकम २ अर्ब नाघेको छ। यस दिन २७५ स्टकको ४० हजार ६३४ पटकको कारोबारमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र सिटिजन्स म्युचुअल फण्ड १ को मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्लोबल बैंकको १० करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
© 2023, Online Bulletin