ट्रम्पलाई ट्विटर चलाउन दिने भए एलन मस्कले


Krishna Budhathoki

मङ्लबार, मंसिर ६, २०७९

एजेन्सी

काठमाडौं, मंसिर ६

माइक्रो ब्लगिङ साइट ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर चलाउन दिने भएका छन्।

यसअघि उनले ट्रम्पको ट्विटर खाता फेरि सक्रिय गर्ने कि नगर्ने भन्ने विषयमा ट्विटरमै पोल गरेका थिए। उक्त पोलमा उनको खाता फेरि सक्रिय हुनुपर्छ भन्नेहरूको बहुमत भएकाले ट्रम्पलाई फेरि ट्विटर चलाउन दिने मस्कले बताएका छन्।

आइतबार बिहान ट्विट गर्दै मस्कले नागरिकको मतअनुसार ट्रम्पको ट्विटर खाता फेरि सक्रिय पारिने जानकारी दिएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले भने फेरि ट्विटरमा फर्किन आफूलाई कुनै रूची नभएको बताएका छन्।

सन् २०२१ जनवरीमा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनालाई प्रोत्साहन गरेको भन्दै ट्विटरले बहालवाला राष्ट्रपति ट्रम्पको ट्विटर खाता निलम्बन गरिदिएको थियो।

ट्विटरमा ट्रम्पका ८ करोड ८७ लाख फलोअर्स थिए। मस्कले यसअघि नै ट्रम्पको ट्विटर खाता फेरि सक्रिय पार्नुपर्ने धारणा राखेका थिए।

ट्विटरको मालिक बनेपछि उनले यस विषयमा गरेको पोलमा १ करोड ५० लाख मानिसले भोट गरेका थिए।  

सम्बन्धित खबर