काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प


Krishna Budhathoki

बिहिबार, जेष्ठ २५, २०८०

२०८० जेष्ठ २५, विहिबार
दोलखा । दिन प्रति दिन काठमाडौलाई सफा राख्ने कार्य भई रहेको छ तर केही व्यक्तिको घिन लाग्दो हर्कत भएको छ । काठमाडौँको फोहोर ल्याएर ललितपुरमा फाल्ने सवारी माथि ललितपुर महानगरपालिकाले कारबाही गर्ने तयारी गरि रहेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट फोहोर र सेफ्टी ट्याङ्कीको ढल लिएर आउने गरेको सूचनाका आधारमा महानगरले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइ सकेको छ ।

यसरी लामो समयदेखि काठमाडौँको फोहोर ल्याएर ललितपुरमा डम्प गर्ने काम भइरहेको महानगरको दाबी छ । बुधबार फोहोर फाल्दै गर्दा बा ३ ख २८० नम्बरको गाडीलाई समाते पछि दैनिक २० वटा ट्याङ्करहरू फोहोर फाल्नका लागि आउने गरेको खुलासा भएको ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले समाचार दाताहरुसँग कुराकानी गदै यो जानकारी दिएका थिए ।

‘फोहोर फाल्दै गर्दा गन्हाए पछि हामी घटनास्थलमा पुग्यौँ । हामी पुग्नासाथ चालक गोपी श्रेष्ठ त्यहाँबाट भागे । गाडी नियन्त्रणमा लिएका छौँ । यसबारे अनुसन्धान गर्दा दैनिक २० वटा यस्तै ट्रकहरू आउने गरेको थाहा पायौँ । फोहोर खन्याउनका लागि एउटा ट्याङ्करलाई ५ सय रुपैयाँ दिने गरिएको रहेछ,’ । महानगर प्रहरीले ट्याङ्करका धनी काजीमान कुसवाल र ठेकेदार दुर्गे तामाङलाई नियन्त्रणमा लिएको छ ।

च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको थियो । त्यहाँ जहिले पनि ताला लगाइने गरिन्थ्यो भने गाडी आउँदा मात्र त्यसलाई खोलिन्थ्यो । हाछेथुका अनुसार पानी बोक्ने ट्याङ्करहरू जस्तै देखिने गाडीहरू सेफ्टी ट्याङ्कीबाट ढल र दिसा लिएर त्यहाँ फाल्ने गर्थे । ठुला जस्ताले घेरिएका कारण त्यहाँ फोहोर फालेको कसैले पत्ता नै पाउन सकेका थिएनन् । जसले गर्दा पुरै क्षेत्रमा दुर्गन्ध फैलिएको थियो ।

२०६८ को फोहोर व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था रहेको हाछेथुको भनाई छ । अहिलेसम्म महानगरले फोहोर फाल्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना गराउँदै आएको थियो । ट्याङ्करका धनी र ठेकेदारलाई अधिकतम जरिवाना गर्ने तयारी गरिएको जानकारी दिए । फोहोर फाल्ने स्थान समेत बन्द गराइएको छ ।

सम्बन्धित खबर