अर्थमन्त्रालयमा सहमति भएपछि नेप्सेमा दोहोरो अंकको वृद्धि


अनलाईन बुलेटिन संवाददाता

आइतवार, जेष्ठ २१, २०८०

सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ।

आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ। १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ।

यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ। १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर बढेका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार लगानीकर्ताहरूलाई आश्वासन दिएपछि नेप्से दोहोरो अंकले बढेको हो। सेयरमा हाल लाग्दै आएको पुँजीगत लाभकरबाहेक आयकरसमेत लाग्न सक्ने आर्थिक विद्येयकले गरेको व्यवस्थाको कारण लगानीकर्ताहरू आत्तिएका थिए।

यही कारण केही दिनदेखि बजार उच्च दरमा घट्न थालेको थियो। गत बिहीबार भने नेप्से १६ अंकसम्म बढेको थियो। आइतबार लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाउने लगायतका आन्दोलनका कार्यक्रम गरेपछि अर्थमन्त्रीले व्यक्तिगत लगानीकर्तालाई पुँजीगत लाभकर नै अन्तिम हुने आश्वासन दिएका थिए।

यससँगै सेयर बजार परिसूचक एकै दिन ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको हो।

सम्बन्धित खबर