दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव’ आयोजना गरिएको छ। जेठ १८ र १९ गते आयोजित महोत्सवले दोलखाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
चरिकोटदेखि नौ किलोमिटर दूरीमा रहेको सोक्लागाउँस्थित भिरमा महोत्सव गरिएको हो। छ महिनादेखि अध्यन गरेर सोक्ला पर्यटन विकास समाज र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान)ले भिर प्रयोगमा ल्याएको छ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र मोगानको प्राविधिक सहयोगमा महोत्सव आयोजना गरिएको हो। सोक्ला पर्यटन विकास समिति अनुसार अब यो भिरलाई महोत्सवपछि पनि निरन्तरता दिएर नेपाल प्रहरी, नेपाल सेनाका लागि परीक्षणस्थल र साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ।
“स्थानीयलाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्दैछौँ,” सोक्ला पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले भने, “महोत्सवले दोलखामा पनि रक क्लाइम्बिङ हुन्छ भनेर सूचना दिएको र राजधानी नजिक रक क्लाइम्बिङको मुख्य गन्तव्य बनाउन सहयोग पुगेको छ।”
रक क्लाइम्बिङ गर्न कम्मरमा हार्नेसमा डारी बाँधेर चढ्ने गरिन्छ। अर्को एक जना दक्ष व्यक्तिले सहयोग गर्छन्। गाउँनजिक ‘रक क्लाइम्बिङ स्पट’ भएकाले सोक्लामा होमस्टे सञ्चालन गर्ने योजना रहेको मोगानका अध्यक्ष संजिव गुरुङले बताए।
समितिले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि शुरू गरेको छ।
दोलखाको समृद्धिका लागि पर्यटन नै प्रमुख आधार भएकाले सरकारले पनि यसमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।
स्थान:
© 2023, Online Bulletin