भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल


अनलाईन बुलेटिन संवाददाता

बिहिबार, जेष्ठ १८, २०८०

भारत विहारको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ।

विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेपछि वथनाहाबाट रेल छुटेको थियो। उक्त रेल आठ किलोमिटर दूरीमा रहेको विराटनगर बुधनगरस्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो ।

बथानाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकीको कस्टम यार्ड रेलमार्गमा कार्गो रेलसेवा सञ्चालन भएको हो। कार्गो रेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन्।

यसअघि भारतको बथनाहासम्म उद्योगका कच्चापदार्थ रेलमार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधनमार्फत उद्योगमा ल्याइने गरिएको थियो। कार्गो रेल सेवा सञ्चालनले भारतलगायत तेस्रो मुलुकबाट आएका कच्चापदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ।

सम्बन्धित खबर