लुम्बिनी केबलकार संचालनमा


अनलाईन बुलेटिन संवाददाता

मङ्लबार, जेष्ठ १६, २०८०

बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ।

आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल-३ गोलपार्क (बमघाट) मा छ भने टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा छ।

सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

उनकाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुनेछ।

अध्यक्ष ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।

२.६ किलोमिटर दूरीको लुम्बिनी केबलकारमा ‘मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५ वटा गोण्डुला (बाकस) छन्। एउटा गोण्डुलामा एकपटकमा ८ जना यात्रु सवार हुन सक्छन्।

केबलकारले दैनिक ६ हजार यात्रुलाई सेवा दिने कम्पनीले बताएका छ।

नेपालमा भित्रिएका केबलकारमध्ये यो सबैभन्दा अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको दावी छ।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको यो लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

कूल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको थियो। टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन्।

आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको छ।

केबलकारको दुईतर्फी भाडा एक हजार रुपैयाँ कायम गरिएको छ। तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि ४५० रुपैयाँ, फरक क्षमता भएकाका लागि ३७५ रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयका लागि ५६५ रुपैयाँको टिकट दर राखिएको छ।

८० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क सेवा दिइने कम्पनीले जनाएको छ।

सम्बन्धित खबर