कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा


अनलाईन बुलेटिन संवाददाता

बुधबार, जेष्ठ १०, २०८०

कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा मंगलबार बिहान साढे ९ बजे २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २७ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो। उनको त्यो रेकर्ड पासाङ दावा शेर्पाले सोमबार बिहान तोडिदिएका थिए।

आफ्नो विश्व कीर्तिमान तोडिएपछि कामिरिता फेरि सगरमाथाको चुचुरोमा पुगेका हुन्।

उनको नाममा आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा धेरैपटक आरोहण गरेको रेकर्ड पनि छ । उनले सगरमाथासहित केटु, चो ओयु, ल्होत्से, मनास्लुलगायत विश्वका अग्ला शिखरमा ३९ पटक आरोहण गरिसकेका छन्।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्ष थिए।

सम्बन्धित खबर