नेपाली कांग्रेस सिन्धुलीको अधिवेशनबाट सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन्।
उनले उज्ज्वलप्रसाद बराललाई हराएका हुन्।
पोखरेलले ८८५ मत ल्याएर सभापति निर्वाचित हुँदा अर्का उम्मेदवार बरालले जम्मा ४७७ मत प्राप्त गरेका थिए। पोखरेल स्वतन्त्र ढंगले अधिवेशनमा होमिएका थिए। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालानिकट उम्मेदवारलाई हराउँदै पोखरेल सभापति निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत लेखतबहादुर खड्काका अनुसार जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए।
तर आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि सोमबार पुनः मतदान गरिएको थियो। पुनः मतदान गरिँदा एक हजार ३७१ मत खसेको थियो। नौ मत भने बदर भएको थियो।
यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए।
जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५३५ जना मतदाता रहेकामा एक हजार ४४० मत खसेको थियो भने ५१ मत बदर भएको थियो।
निर्वाचित पोखरेल नेविसंघ जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पार्टी सचिव, २०५४ मा वडाध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै २८ वर्षदेखि पार्टीको नेतृत्वदायी भूमिकामा रहँदै आएका थिए।
© 2022, Online Bulletin